यस्तो छ भारतीय हस्तक्षेपमा आएको अन्तर
- | राजेश विद्रोही
rajesh bidrohiमुलुकमा भारतीय हस्तक्षेप दर्दनाक बनेको छ । हिजो र आजको भारतीय हस्तक्षेपमा ठूलो अन्तर छ । समय सापेक्ष रुपमा प्रत्यक्ष अप्रत्यक्ष भारतीय हस्तक्षेप, आक्रमण फरक फरक आवरणमा देखिन्छ । परिणामतः भारत र भारतीय सीमाका जनतामा ठूलो परिवर्तन देखिन्छ । तर मुलुकको राजनीति स्वार्थ र सत्ताशीन शासक वर्गमा कुनै परिवर्तन देखिँदैन् । यथास्थिवादमा पतन छ ।
मुलुकको राजनीतिक सत्ता सरकारले जति ठूलो परिवर्तन र आदर्शको कुरा गरे पनि आफ्नै भूगोलमा फिज्न सकेको छैन । न त देशको सुरक्षा नै गर्न सकेको छ । उल्टो भारतीय तावेदारीमा चल्छ । यहाँ अवस्थाअनुसारको राज्य व्यवस्था अनुसारको राज्य सुरक्षा र सुरक्षा नीति छैन । परिणामतः नेपाली भूमिमा नेपालीको पहुँचभन्दा भारत र भारतीय जनताको पहुँच बलियो छ । नेपाली जनताको आशा भरोसा र इच्छा आकाङ्क्षामा निरासा छ । आफ्नै भूमिमा पराइको जीवन छ । भारतीय सेवा सुविधाभन्दा राज्यको सेवा सुविधा घण्टौं टाढा छ । पहाडभन्दा तराई मधेस हरेक हिसाबले सुगम मानिन्छ र छ पनि । तर पहाडभन्दा पनि दुर्गमताको दर्दनाक अवस्था तराई मधेसमा छ । जहाँ राज्यको सेवा सुविधाविना जनता मरेका छन् । मरिरहेका छन् ।
Sapatari-Gobargadha
स्थानीय तहमा नेपाली र भारतीय जनतामा कुनै फरक छैन । नेपाली र भारतीय नागरिक छुट्याउन गाह्रो छ । दुवैको भेषभूषा, भाषा, संस्कार र संस्कृति उस्तै छ । दसगजाले मात्र सबै कुराको निर्धारण गरेको छ । त्यसमा पनि दसगजा क्षेत्रमा भारतीय नागरिकको जबर्जस्त बाक्लो बस्ती छ । नेपाली भूमि मिचेर दसगजा क्षेत्रमा बस्ती नै बसालेर बसेका छन् । अर्को भारतीय नागरिकले बटैयाको नाममा नेपाली जग्गा उब्जाएर बर्सेनि कैयौं टन बालीनाली घर भित्र्याउँछन् । यस्तै दिनानुदिन दसगजा पिल्लर नेपाली भूमिमा सारिने प्रवृत्ति डरलाग्दो छ । यसले नेपाली र नेपालको इतिहास गुम्ने खतरा छ । त्यसमा पनि मुलुकको जातीय क्षेत्रीय राजनीतिक अवस्था र विभेदले झन् मलजल गरेका छन् । मुलुकको रङ्गभेद नक्सलवादी राजनीति उग्रता र मधेसी जनताको नेपाली सेवा सुवधाभन्दा भारतीय सेवा सुविधामा छिटो सस्तो र भरपर्दो पहुँच तथा बेटीरोटीको सम्बन्धले नेपालभन्दा भारतीय मोह बढी छ । यसमा राज्य बेलैमा गम्भीर र सजग हुन जरुरी छ ।
प्रेम अन्धो हुन्छ भन्ने सुनेको छु । यसले कुनै सीमा र विभेद मान्दैन । बरु ज्यानै दिन्छ । हाम्रो समाजले भोगे देखेका कुरा हुन् । यो प्रवृत्ति हावी हुँदै गयो भने मुलुक सिक्किमीकरण, भुटानीकरणतिर जाने खतरा हुन्छ । अहिले त्यस्तो अवस्था छैन् । नहोस् भन्न चाहन्छु । अहिले थुप्रै विकल्पहरु छन् । विकल्पको निदान नहोस् । हामी नेपाली हौं । नेपाली भन्नमा गर्व गर्न राज्यले सिकाउनुपर्छ । आफ्नो मातृ भूमिप्रति सचेतना जगाउनुपर्छ ।
अहिले सिमानामा भारतीय दबदबाले नेपालका तराई मधेसका जनता भारतीय शासक वर्गसँग गुलामीको बन्धकी जीवन बाँच्न विवश छन् । दिनरात भारतीय शासक वर्गका विभिन्न स्वरुपको प्रत्यक्ष अप्रत्यक्ष आक्रमणको सिकारमा मधेसी जनता छन् । अहिले ठूलो राष्ट्रवादी कहलाउने पार्टीहरुको नेतृत्वमा सरकार फेरबदल भइरहँदा पनि राष्ट्रियताको विपत्तिमाथि कुनै पहल र चासो छैन । बरु उल्टो निजी राजनीतिक स्वार्थका लागि देश र जनता बेचिएका छन् । जातीय राजनीति सम्प्रदायिक भाड्कावमा राजनीतिक आयु लम्ब्याउने खेल खेलिरहेका छन् । मुलुकमा भइरहेका राजनीतिक परिवर्तन र त्यसपछि पटक पटक फेरिएको सत्ता स्वार्थको कमजोरीमा भारतले मौकाको फाइदा उठाएको छ । उठाउँदै आएको छ पनि । यसले मुलुक एकपछि अर्को कमजोरीको भुमरीमा फस्दै गएको छ । यो कुनै बनाबटी कुरा होइन् । न दुश्मनी र बदला भावको चरित्र हो । यो नेपाली भूमि र यहाँको जनताको धरातलीय यर्थातको प्रतिविम्ब हो ।
मुलुकमाथिको भारतीय प्रभावले सीमाको जनता नेपाली भन्नमा लजाइरहेका छन् । सप्तरी गोबरगाढा गाविसका जनता वर्षौंदेखि राज्यको सेवा सुविधाबाट वञ्चित छन् । २००७ सालदेखि मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भए । तर यहाँका जनतामा कुनै परिवर्तनको महसुस छैन् । पहिला जस्तै अहिलेको जीवनयापन छ । उनीहरु नेपाली भए पनि जीवनयापन भने भारत निर्भर छन् । त्यसैले आफ्नो देशको मायाभन्दा छिमेकीको माया बढी छ । तथापि आफ्नो देशको सीमा सुरक्षा अहोरात्र गरेका छन् । कतिबेला भारतीय सुरक्षाकर्मी नेपाली बस्तीमा प्रवेश गरी अनाचार गर्छ कि डर पनि उत्तिकै छ । गोबरगाढा यसअघि गाविस थियो । अहिले हनुमाननगर नगरपालिकाको वडा नम्बर ८ बनेको छ । तर गोबरगाढाबाट करिब ३ घण्टा हिँडेपछि मात्र उक्त नगरपालिकाको मुख्य बजार हनुमाननगर पुग्छन् । यस्तो दुर्गम हो कि गाडी गुड्दैन । असुविधाले बाँच्ने बिरामीसमेत मर्ने गरेका छन् । पैदल यात्रा गर्दा बाटोमै पर्ने सप्तकोशी नदी ठाउँठाउँमा ढुङ्गा चढेर मात्र हनुमाननगर बजार पुग्न सकिन्छ ।
गोबरगाढामा प्रहरी चौकी छ । प्रहरी बस्दैन । गाविस, स्वास्थ्य चौकी, हुलाकलगायतका सरकारी कार्यालय छ । तर कर्मचारी हुँदैन । विद्यालय छ, शिक्षक छैनन् । त्यहाँका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित छन् । राजनीतिक दल तथा नेताको समेत पहुँच छैन । विकट भएकाले निर्वाचनका बेला पनि उम्मेदवारहरु भोट माग्न पुग्न सक्दैन् । जनता स्वस्र्फूत प्रचार सुनेकै भरमा भोट खसाल्न बुथ पुग्छन् । दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन माओवादीका क्षेत्र नम्बर २ बाट अशोक मण्डल (अमर) निर्वाचित भए । तर उनी पनि त्यहाँ अझै पुग्न सकेका छैन् । माओवादी ࣝद्वन्द्वकालमा सुरक्षाको हिसाबले यो बस्ती सुरक्षित मानिन्थ्यो । तराईको भूमिगत समूहहरु पनि यो बस्तीलाई सुरक्षित मानिन्छ ।
Siraha- Lagadi
त्यस्तै तर त्योभन्दा दर्दनाक अवस्था छ सिरहाको लगडी गदियानीमा । त्यस ठाउँमा पुग्न पनि सिरहा सदरमुकाम सिरहादेखि पैदल घण्टौं लाग्छ । कुनै यातायातको सुविधा छैन । त्यहाँको दसगजा क्षेत्रमा ५० घरधुरीभन्दा बढी भारतीय नागरिकले नै बस्ती बसालेका छन् । दसगजामा रहने पिलरदेखि दस गज भारततिर र दस गज नेपालतिर खाली हुनुपर्ने हो । तर बीच आँगनमै जङ्गी पिल्लर छ । त्यो दृश्यले हरेक नेपालीको आङ सिरिङ हुन्छ । स्थानीय भारतीय नागरिक स्वयंले दसगजा क्षेत्रमा बसेको गल्ती स्वीकार्छन् । तर खाली गर्न चाहँदैनन् । पछि खाली गर्छु भनेर पन्छिन्छन् । त्यो बस्तीमा कुनै नेपाली पसेको सूचना पाउनासाथ भारतीय सुरक्षाकर्मी एसएसबीको टोली ह्वारह्वारती पुग्छन् । सिरहा क्षेत्र नम्बर ३ मा पर्छन् लगदिगदियानी । सो क्षेत्रबाट काङ्ग्रेस नेतृ सीतादेवी यादव निर्वाचित सभासद हुन् ।
यो उदाहरण मात्र हो । नेपाल भारत सीमामा यस्ता धेरै नेपालीको दर्दनाक कथा छ । सुन्दा पत्यार नलाग्न सक्छ । तर प्रत्यक्ष अनुभूतिले आँखाबाट आँशु झर्छ । मुलुक जिउँदो मरेको आभास हुन्छ । राष्ट्रियता हराएको भान हुन्छ । त्यहाँबाट फर्किन मनमा बाँध लाग्छ । राज्यको स्थानीय जिम्मेवार निकाय गैरजिम्मेवार अभिव्यक्ति दिन्छ । लाग्छ उनलाई भारतसँग सामना गर्ने हैसियत छैन । उनको नजरमा भारतीयले गरेको नेपाल भूमिमाथिको अत्याचार सुहाउँदो नै छ । त्यसैले टुलुटुलु हेर्नेबाहेक केही गर्न सकेका छैन । राज्यको जिम्मेवार अनौपचारिक रुपमा निभाएको छ । मस्तले पोकेट भरेको छ । सायद त्यसैले होला मधेसका जिल्लामा कर्मचारी आउन हानाथाप गर्छन् । आँट नहुने इमानदारहरु डराउँछन् । राज्यको जिम्मेवारी भन्दा निजी स्वार्थका लागि कमाउन आएको व्यवहार देखाउँछन् । राजनीतिक कुरा त परैको विषय हो । अधिकारको नाममा जति चिन्ता, चासो र सङ्घर्ष मधेसी दलका नेतामा राज्यप्रति छ, उति भारतीय हस्तक्षेपप्रति छैन । मात्र स्थानीयबासी लडिरहेका छन् हस्तक्षेपका विरुद्ध । र राष्ट्रिय स्वाभिमान बचाएका छन् । त्यसमा राजनीतिक रङ हालेर नेताहरु शासक बन्न उद्दत छन् ।
भारतले हालसम्म १८ जिल्लाका ५४ ठाउँमा सीमा मिचेका छन् । जुन हाल ८० भन्दा बढी नाघिसकेको एक तथ्याङ्कले देखाएको छ । ४०८७ सीमा स्तम्भहरुमध्ये साबुत २५१३, बेसाबुत २०२, जीर्ण १८९, खोलाले बगाएको ४९९ साधारण मर्मत ६८७ रहेको तथ्याङ्क छ । १७ जिल्लामा २१ भारतीय तटबन्ध÷बाँध निर्माणाधीन अवस्थामा छ भने ७० हजारभन्दा बढी भारतीय एजेन्टहरु नेपालमा रहेका छन् । जो भारतका लागि नेपाल विरुद्धको गतिविधिमा संलग्न छन् । यसले के सावित गर्छ भने चीनभन्दा भारतको नेपालप्रति कैयन गुणा बढी हस्तक्षेपकारी नीति छ । यसमा राज्य पक्ष बेलैमा गम्भीर बन्नुपर्छ र राष्ट्रिय स्वाधीनताका लागि समकक्षताको भूमिका निर्वाह गरी राज्यलाई विकसित राज्यको हाराहारीमा पुर्याउन जरुरी छ । भोलि मुलुक योभन्दा कैयन गुणाले कमजोर हुन्छ र देश शरणार्थीका रुपमा बदलिन्छ ।
राजनीतिक हिसाबले राष्ट्रियताको चर्का नारा दिएर जीवन बाँचेका राजनीतिक दलहरुले अहिलेसम्म राष्ट्रियताको मामिलामा निकै कमजोर देखिन्छ । राष्ट्रिय स्वाधीनताहरु एकपछि अर्को बेचिएको इतिहास साक्षी छ । तर त्योभन्दा फरक पृष्ठभूमिको जीवन बाँचिरहेका छन्, तराई मधेसका जनताहरु । बिनास्वार्थ सीमामा राष्ट्रिय स्वाधीनता बचाइरहेका छन् । त्यसैले समय उल्टो चलेको छ । जसले बढी राज्यको सुरक्षा गर्छन् ऊ बढी विदेशी कहलिएका छन् । जसले राज्यको स्वाधीनता बेचेको छ । ऊ आफूलाई बढी राष्ट्रवादी कहलिएको छ । रङ्गभेद र विखण्डनको राजनीति चलाएका छन् ।
अहिले जति पनि आफूलाई राष्ट्रवादी, क्षेत्रीयतावादी दलको नाममा राजनीति चलाएका छन् उनी सबै एउटै वर्गका हुन् । कुरा मिले सबै स्वाहा, न मिले विरोधभाव नै छ । जुन विभेदमा राजनीतिक सत्ताको बागडोर हत्याउन चाहन्छ । निहत्था वर्गमाथि शासन चलाउन चाहन्छ । यसमा सबै राष्ट्रवादी शक्तिहरु एकजुट हुन जरुरी छ । अबको दिनमा विगतमा झैँ भुलेर पनि जातीय क्षेत्रीय तथा पैसाको नाममा राष्ट्रघाती, जनविरोधीहरुलाई राज्यको बागडोरमा पुर्याउन जनता सचेत हुनुपर्छ । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता जोगाउन दक्ष राजनेतालाई छानिछानी विजय गराउनुपर्छ । चाहे स्वतन्त्र होस् वा कुनै दलका नेता । जनताको अगाडि यी सबै कुरा फिका र निर्णायक हुन् । जुन अधिकार जनतामा निहित छ । अर्थात् बादशाहलाई घोडाबाट खसाल्ने शक्ति जनतामा छ ।

No comments:
Post a Comment